प्रधानमन्त्री सुशीला कार्कीको कार्यकाल अब कति दिन? चुनाव परिणामपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुने
Thank you for reading this post, don't forget to subscribe!काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि आफ्नो जिम्मेवारी लगभग पूरा भएको संकेत दिएकी छन्। बिहीबार बिहान काठमाडौँको धापासीस्थित मतदान केन्द्रमा मतदान गरेपछि उनले छिटोभन्दा छिटो नयाँ सरकार गठन गरेर सत्ता हस्तान्तरण गर्ने तयारी रहेको बताइन्।
बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले निर्वाचन परिणामअनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने भन्दै आफूले नयाँ सरकारलाई सहज रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने बताइन्।
उनले भनिन्, “अब कस्तो परिणाम आउँछ त्यसले नै सरकारको स्वरूप तय गर्छ। गठबन्धन सरकार बन्छ कि एकल सरकार, त्यो हेर्न बाँकी छ।”
निर्वाचन आयोगका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। आयोगले फागुन २५ भित्र अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
नयाँ सरकार गठनको प्रक्रिया
संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि निर्वाचन आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनेछ। त्यसपछि वर्तमान प्रधानमन्त्रीले राजीनामा दिई कामचलाउ सरकारका रूपमा रहने परम्परा छ।
राष्ट्रपति रामचन्द्र पौडेलले त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछन्।
यदि कुनै दलले स्पष्ट बहुमत ल्याएमा सोही दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरिनेछ। तर बहुमत नआएमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने प्रक्रिया अघि बढ्नेछ।
संविधानविद्हरूका अनुसार निर्वाचन परिणाम आएपछि सामान्यतया एक सातादेखि दुई साताभित्र नयाँ प्रधानमन्त्री चयन हुने सम्भावना रहेको छ।
बहुमत नआए के हुन्छ?
यदि कुनै दलले स्पष्ट बहुमत ल्याउन नसकेमा दलहरूबीच गठबन्धन गरेर बहुमत जुटाउने प्रयास हुनेछ। त्यसबाट पनि सहमति नबनेमा संसद्मा सबैभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिइने संवैधानिक व्यवस्था छ।
त्यस्तो अवस्थामा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
प्रधानमन्त्री कार्की भने नयाँ सरकारलाई छिटो जिम्मेवारी हस्तान्तरण गर्न चाहेको बताउँदै अहिले देशका युवाहरूले उठाएको परिवर्तनको अपेक्षा पूरा गर्ने जिम्मेवारी आगामी सरकारको हुने बताउँछिन्।
