रास्वपाको लहरबारे अन्य दलको प्रतिक्रिया : ‘परिणाम आत्मसात् गरेर अध्ययन गर्छौँ’

काठमाडौं।
प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर उल्लेखनीय अग्रता लिएपछि अन्य प्रमुख दलका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपय नेताले परिणामलाई आश्चर्यजनक बताएका छन् भने कतिपयले जनताको निर्णयलाई स्वीकार गरेर त्यसको कारण अध्ययन गर्ने बताएका छन्।

Thank you for reading this post, don't forget to subscribe!

निर्वाचन आयोगका अनुसार शुक्रबार साँझसम्म प्रत्यक्षतर्फका १६५ मध्ये १३५ निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ। तीमध्ये ९६ क्षेत्रमा रास्वपा अग्रस्थानमा देखिएको छ। हालसम्म रास्वपा र नेपाली कांग्रेस एक–एक स्थानमा विजयी भइसकेका छन्। यस्तै नेपाली कांग्रेस ११ क्षेत्रमा र नेकपा एमाले १० क्षेत्रमा अग्रता लिइरहेका छन् भने नेपाली कम्युनिस्ट पार्टी नौ क्षेत्रमा अगाडि रहेको छ।

‘नयाँलाई अवसर दिने चाहना’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदातामा पुराना दलप्रति निराशा र नयाँ शक्तिबाट परिवर्तनको अपेक्षाका कारण यस्तो परिणाम आएको हुन सक्ने बताएका छन्।
उनले भने, “मतदाताले दिएको जनादेशलाई हामीले आत्मसात् गरेर अगाडि बढ्नुपर्छ।”

एमालेको प्रतिक्रिया

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रारम्भिक मतपरिणामलाई “अनपेक्षित” बताएका छन्।
उनका अनुसार परिणामका विभिन्न कारण हुन सक्ने भएकाले पार्टीले त्यसको विस्तृत अध्ययन गर्नेछ। उनले लोकतन्त्र सुदृढ रहोस् र राष्ट्रिय हितमा कुनै सम्झौता नहोस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

नेकपाको धारणा

प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटाले अहिलेको परिणामलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताएका छन्।
उनले नयाँ दलले सरकार चलाउने सम्भावना देखिँदा त्यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने पनि उल्लेख गरेका छन्।

रास्वपाको भनाइ

रास्वपाले भने मतदाताले दिएको विश्वासलाई जिम्मेवारीका साथ अगाडि बढाउने बताएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार रास्वपाको मुख्य प्राथमिकता सुशासन, सेवा प्रवाह सुधार र आर्थिक समृद्धि हुनेछ।

उनले भने, “जनताले ठूलो अपेक्षाका साथ मत दिएका छन्। त्यसलाई सम्मान गर्दै जिम्मेवार ढंगले काम गर्नेछौँ।”

हाल देशभर मतगणना जारी रहेकाले अन्तिम परिणामपछि मात्रै आगामी सरकार गठनको समीकरण स्पष्ट हुने अपेक्षा गरिएको छ।