१८ फागुन | सल्यान

Thank you for reading this post, don't forget to subscribe!

सल्यानमा चुनावी अभियान अन्तिम चरणमा पुगेको छ। एउटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १४ उम्मेदवार घरदैलोमा व्यस्त छन्। विकास, समृद्धि र परिवर्तनका नारा गाउँ–गाउँ घन्किरहेका छन्।

तर शारदा नगरपालिका–१ शान्तिनगर को सीमान्तकृत (दलित) बस्तीमा भने चुनावी चहलपहल शून्य छ। मौन अवधि सुरु हुनै लाग्दा पनि यहाँ कुनै उम्मेदवार नपुगेको स्थानीयको गुनासो छ।


३० घरधुरी, तर लालपुर्जा छैन

करिब ३० भन्दा बढी घरपरिवार बसोबास गर्ने यस बस्तीका अधिकांश परिवारसँग आफ्नै नाममा लालपुर्जा छैन। पुस्तौँदेखि बसोबास गर्दै आएको जमिन कानुनी रूपमा आफ्नो नभएकै कारण उनीहरू असुरक्षाको भावनामा बाँचिरहेका छन्।

हरेक निर्वाचनमा लालपुर्जा दिलाउने आश्वासन दोहोरिने गरेको भए पनि परिणाम शून्य रहेको स्थानीय बताउँछन्। यसपटक त उम्मेदवार नै नआएको उनीहरूको गुनासो छ।

गौरी नेपाली तीन दशकदेखि लालपुर्जाका लागि दौडधूप गरिरहेकी छन्।
“थाहा पाउने भएदेखि यहीँ बस्दै आएकी छु। घर छ तर लालपुर्जा छैन। ३० वर्षदेखि पहल गरिरहेकी छु, अझै पाएको छैन,” उनी भन्छिन्, “हरेक चुनावमा नेताहरू पुर्जा दिलाउँछौँ भन्छन्, तर हामी अझै सुकुम्बासीझैँ बाँचिरहेका छौँ।”


घर छ, तर स्वामित्वको कागज छैन

सरकारले वर्षौँअघि जनता आवास कार्यक्रम अन्तर्गत यहाँका दर्जनौँ परिवारका लागि घर निर्माण गरिदिएको थियो। तर स्वामित्वको कागज नहुँदा असुरक्षित महसुस गरेर बस्नुपर्ने बाध्यता कायमै छ।

स्थानीय मित्रलाल नेपाली भन्छन्,
“सरकारले बनाइदिएको घर छ, तर आफ्नै नाममा छैन। कुनै दिन सरकारले फिर्ता लिन्छ कि भन्ने डर लागिरहन्छ। ३४–३५ वर्षदेखि मतदान गर्दै आएका छौँ, तर हाम्रो समस्या कसैले समाधान गरेन। यसपटक त उम्मेदवारहरू बस्तीमै छिरेनन्।”


नाराभन्दा कानुनी स्वामित्वको माग

जिल्लाभर सभा, जुलुस र नाराले चुनावी माहोल तातिएको छ। तर शान्तिनगरको यो बस्तीमा नागरिकको एउटै माग छ— आफ्नै घरको लालपुर्जा।

उनीहरूलाई ठूला योजना र महत्वाकांक्षी घोषणा होइन, कानुनी स्वामित्वको सुनिश्चितता चाहिएको छ। मौन अवधि सुरु हुनै लाग्दा पनि उम्मेदवार नपुगेपछि स्थानीयले आफ्ना माग दोहोर्‍याउने अवसरसमेत नपाएको गुनासो गरेका छन्।

मतदानपछि पनि पुरानै प्रश्न दोहोरिने र लालपुर्जा पाउने आशा फेरि अधुरै रहने हो कि भन्ने चिन्ता बस्तीमा बढ्दो छ।