Thank you for reading this post, don't forget to subscribe!
कार्की आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी, मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने संकेत
काठमाडौँ | देशको स्वर
सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले उक्त प्रतिवेदनलाई औपचारिक रूपमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर कार्यान्वयन प्रक्रिया अघि बढाउने संकेत दिएकी हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकमार्फत अनुसन्धान तथा सम्बन्धित निकायहरूलाई प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने तयारी भइरहेको छ। सरकारले प्रतिवेदनमा उल्लेख भएका सुझाव र सिफारिसलाई तत्काल कार्यान्वयन गर्ने रणनीति बनाएको बताइएको छ।
प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएकै दिन बालुवाटारमा प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिंहसँग विस्तृत छलफल गरेकी थिइन्। सो क्रममा प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारे प्रारम्भिक रणनीति बनाइएको स्रोतले जनाएको छ।
यससँगै प्रधानमन्त्री कार्कीले केही वरिष्ठ कानुन व्यवसायीहरूसँग पनि परामर्श गरेकी छन्। कानुनी जटिलता नआउने गरी प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने विकल्पहरूबारे सरकार गम्भीर रूपमा छलफलमा रहेको बताइएको छ।
कार्की आयोगले हालै सरकारलाई बुझाएको प्रतिवेदनमा जेन–जेड आन्दोलनका क्रममा भएका घटनाक्रम, सुरक्षा निकायको भूमिका तथा राज्यको प्रतिक्रियाबारे विस्तृत अध्ययन र सुझाव समेटिएको बताइएको छ। अब सरकारले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै त्यससँग सम्बन्धित विषयहरूमा थप अनुसन्धान तथा कारबाही अघि बढ्ने सम्भावना रहेको छ।
#DeshKoSwar
#NepalPolitics
#KarkiCommission
#GenZMovement
#NepalNews
