दुबई–काठमाडौं विशेष उडान सञ्चालन गर्ने नेपाल वायुसेवाको घोषणा

काठमाडौं, ११ मार्च — नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै काठमाडौं–दुबई र दुबई–काठमाडौं बीच विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

Thank you for reading this post, don't forget to subscribe!

निगमले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार RA229 (काठमाडौं–दुबई) उडान ११ मार्च २०२६ मा स्थानीय समय अनुसार २२:१५ बजे प्रस्थान गर्नेछ। त्यस्तै RA230 (दुबई–काठमाडौं) उडान १२ मार्च २०२६ मा स्थानीय समय अनुसार ०४:५० बजे प्रस्थान हुने जनाइएको छ।

नेपाल वायुसेवा निगमका अनुसार नियमित उडान तालिका बाहेक विशेष व्यवस्थाअन्तर्गत यी उडानहरू सञ्चालन गरिनेछन्। २८ फेब्रुअरीदेखि ९ मार्च २०२६ सम्म टिकट लिई यात्रा गर्न नसकेका यात्रुहरूले ११ मार्चको उडानमार्फत यात्रा गर्न चाहेको खण्डमा टिकट पुनः प्रमाणीकरण (Re-confirm) गर्नुपर्ने निगमले जनाएको छ।

टिकट पुनः प्रमाणीकरण गरिसकेका यात्रुहरूलाई मात्र विमानस्थल प्रवेशको अनुमति दिइने निगमले स्पष्ट पारेको छ। सिटको उपलब्धताका आधारमा पहिले रोकिएका यात्रुहरूलाई “first come, first serve” आधारमा टिकट उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ।

नेपालबाट दुबई यात्रा गर्न चाहने यात्रुहरूले टिकट प्रमाणीकरणका लागि sales@nac.com.np मा इमेल गर्न वा 01-5718538 / 5718539 नम्बरमा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै दुबईबाट नेपाल आउन चाहने यात्रुहरूले nac_dxb@nac.com.np मा इमेल गर्न वा +971 544311750 / +971 505074247 नम्बरमा सम्पर्क गर्न निगमले आग्रह गरेको छ।

निगमले यात्रुहरूलाई उडान अघि आफ्नो आधिकारिक वेबसाइट www.nepalairlines.com.np तथा सामाजिक सञ्जालमार्फत प्रकाशित हुने सूचना नियमित रूपमा हेर्न पनि अनुरोध गरेको छ।

यद्यपि मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण कुनै पनि समयमा उडान रद्द हुन सक्ने सम्भावना रहेको भन्दै निगमले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।