सिरहामा रास्वपाको ‘क्लिन स्वीप’: चारै क्षेत्रमा युवा उम्मेदवार विजयी

मधेश प्रदेशको सिरहा जिल्लामा यसपटकको प्रतिनिधिसभा निर्वाचनले ठूलो राजनीतिक सन्देश दिएको छ। लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहेको सिरहामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चारै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ।

Thank you for reading this post, don't forget to subscribe!

सिरहाबाट सिरहा–१ मा बब्लु गुप्ता, सिरहा–२ मा शिवशंकर यादव, सिरहा–३ मा शम्भुकुमार यादव र सिरहा–४ मा तपेश्वर यादव विजयी भएका छन्। चारै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएपछि सिरहामा पार्टीले ‘क्लिन स्वीप’ गरेको छ।

यो परिणामलाई मधेश प्रदेशको राजनीतिमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि मधेश राजनीतिमा प्रभाव जमाउँदै आएका पुराना नेताहरूलाई पछि पार्दै यसपटक युवा उम्मेदवारहरूले जनताको समर्थन प्राप्त गरेका छन्

विशेषगरी मधेश केन्द्रित दल तथा परम्परागत राजनीतिक दलहरूको बलियो प्रभाव रहेको क्षेत्रमा यसपटक नयाँ राजनीतिक शक्ति र नयाँ पुस्ताप्रति मतदाताको झुकाव देखिएको विश्लेषकहरू बताउँछन्।

सिरहाबाट चारै सीटमा रास्वपाका उम्मेदवार विजयी हुनु मधेश प्रदेशमा पार्टीको लागि ठूलो उपलब्धि मानिएको छ। यस परिणामले मधेशका मतदाताले परिवर्तन चाहेको सन्देश दिएको धेरैको बुझाइ छ।

कतिपयले यो परिणामलाई देशभर देखिएको नयाँ राजनीतिक लहर र युवा नेतृत्वप्रतिको विश्वाससँग जोडेर पनि हेरेका छन्। काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र शाह ‘बालेन’ को लोकप्रियता र नयाँ नेतृत्वको प्रतीकका रूपमा बनेको छविले पनि युवापुस्तामा उत्साह थपेको विश्लेषण गरिन्छ।

अब सिरहाबाट निर्वाचित भएका यी चार जनाले आगामी पाँच वर्षमा जनताको अपेक्षा अनुसार विकास, सुशासन र जनहितका मुद्दामा कस्तो काम गर्छन् भन्ने कुरा सबैको ध्यानको केन्द्रमा रहनेछ।