खाडी क्षेत्रमा बढ्दो तनाव: कतारका प्रधानमन्त्रीले इरानलाई आक्रमण रोक्न आग्रह

खाडी क्षेत्रमा बढ्दो सुरक्षा तनावबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानलाई कतार तथा अन्य खाडी देशहरूमा भइरहेको आक्रमण तत्काल रोक्न आग्रह गरेका छन्।

Thank you for reading this post, don't forget to subscribe!

स्काई न्युजसँगको एक विशेष अन्तर्वार्तामा प्रधानमन्त्री अल थानीले इरानले आफ्ना कदमलाई जायज ठहर्याउन विभिन्न कारणहरू प्रस्तुत गरिरहेको बताए। तर कतारले ती सबै तर्क अस्वीकार गर्ने स्पष्ट पार्दै उनले क्षेत्रीय स्थिरता कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार खाडी क्षेत्रमा तनाव कम गर्न कतारले पछिल्लो समय कूटनीतिक प्रयासहरू तीव्र बनाएको थियो। यस्तो अवस्थामा आक्रमण हुनु “विश्वासघातपूर्ण कदम” भएको उनको भनाइ छ।

प्रधानमन्त्री अल थानीले देशको पहिलो प्राथमिकता आफ्ना नागरिकको सुरक्षा भएको पनि बताएका छन्। उनले कतार सरकारले राष्ट्रिय सुरक्षा बलियो बनाउने र नागरिकको दैनिक जीवन सुरक्षित राख्ने विषयमा पूर्ण प्रतिबद्धता जनाएको उल्लेख गरे।

त्यसैगरी उनले इरानसँग संवादको ढोका खुला राख्ने नीति पनि दोहोर्याए। “इरान हाम्रो छिमेकी देश हो। त्यसैले संवाद र कूटनीतिक माध्यमबाट तनाव कम गर्ने प्रयास जारी रहनेछ,” उनले भने।

खाडी क्षेत्रमा पछिल्लो तनाव अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि झन् चर्किएको बताइएको छ। त्यसको प्रत्युत्तरस्वरूप इरानले खाडी क्षेत्रतर्फ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार द्वन्द्व सुरु भएयता इरानमा करिब १,२३० जना, लेबनानमा ३०० भन्दा बढीइजरायलमा करिब एक दर्जन मानिसको मृत्यु भइसकेको बताइएको छ।

यस घटनाक्रमले मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था थप जटिल बन्ने चिन्ता बढाएको छ।