काठमाडौं । दशैं नजिकिँदै गर्दा नेपाली चलचित्र क्षेत्र फेरि पनि विवादमा तातिएको छ। विशेषगरी आगामी फूलपातिमा रिलिज हुने ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ लाई लिएर निर्माता तथा फ्यानबीच सामाजिक संजालमा आरोप–प्रत्यारोप चलेको छ।

Thank you for reading this post, don't forget to subscribe!

गत वर्षजस्तै यो वर्ष पनि ‘हेट स्पिच’नकारात्मक क्याम्पेन सुरु भएको देखिन्छ। यसले चलचित्रको प्रचारभन्दा बढी उद्योगको छवि धूमिल हुने चिन्ता धेरै निर्माता–कलाकारहरूले व्यक्त गरेका छन्।

कानूनी चेतावनीसम्म पुगे निर्माता

‘माइतीघर’का निर्माता रोहित अधिकारीले आफ्नो फिल्मविरुद्ध भइरहेको टिप्पणी र गालीगलौजलाई लिएर कानूनी कदम चाल्ने चेतावनी दिएका छन्। उनले सामाजिक संजालमै स्टाटस राख्दै, आवश्यक परे फिल्म प्रदर्शन स्थगित गर्नेसम्मको संकेत गरेका छन् तर “अभियान चलाउनेलाई छाड्दिनँ” भन्दै चेतावनी पनि दिएका छन्।

दीपकराज गिरीको अपिल: “गाली होइन, प्रचार गरौं”

अभिनेता तथा निर्माता दीपकराज गिरीले भने विवादलाई शान्त पार्ने शैलीमा अपिल गरेका छन्। उनले फेसबुकमा लेखेका छन् —
“आफ्नो हिरोलाई ‘बाघ’ र अरुलाई ‘स्याल’ भन्नु गलत हो। आखिर बाघ पनि जनावर नै हो। गाली गरेर होइन, राम्रो प्रचार गरेर फिल्म अघि बढाऔं।”

सन्तोष सेनको प्रतिवाद

गिरीको पोस्टमा ‘बलिदान’ निर्देशक सन्तोष सेनले धार्मिक शपथसमेत लिँदै आफूले कहिल्यै अरुलाई गिराउने प्रयास नगरेको दाबी गरेका छन्। उनले भने,
“यदि मैले अरुलाई नकारात्मक कमेन्ट गराएको पाइए, भने यो क्षणमै मेरो जीवन अन्त्य होस्।”

पछाडिको पृष्ठभूमि

यसअघि पनि गिरीको ‘छक्कापञ्जा ५’ र विराज भट्टको ‘१२ गाउँ’ बक्सअफिस भिडन्तमा पर्दा सामाजिक संजालमा व्यापक साइबर हमला भएको थियो। यसपालि पनि विराज भट्टका छोरा समीर, जसलाई कतिपयले ‘बाघ’ को संज्ञा दिएका छन्, गिरीको स्टाटस लक्षित भएको अनुमान गरिएको छ।

मौन रह्यो ‘हरिबहादुरको जुत्ता’

यस विवादमा भने ‘हरिबहादुरको जुत्ता’ टिम तटस्थ देखिएको छ। निर्माता सरोज ओलीले आफ्नो फिल्मले कसैलाई गाली नगर्ने र विवादमा नजाने स्पष्ट पारेका छन्।

डिजिटल प्रचार र नकारात्मक असर

फिल्म प्रचारमा डिजिटल प्लेटफर्मको प्रयोग बढेसँगै फेक एकाउन्टमार्फत हुने आक्रमण, ट्रोलिङ र हेट कमेन्ट पनि बढिरहेको छ। यसले दर्शकभन्दा बढी कलाकारबीचको प्रतिस्पर्धालाई विवादास्पद बनाइरहेको छ।


यसरी ‘बाघ र स्याल’ को बहसले दशैंमा रिलिज हुने फिल्महरूको माहोल ताताइरहेका बेला, दर्शक भने असली भिडन्त त पर्दामा हेर्ने उत्सुकतामा छन्।