Thank you for reading this post, don't forget to subscribe!
असोज १३ गते फुलपातीमा प्रदर्शन हुने बहुप्रतीक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ आक्रामक प्रचार–प्रसार अभियानमा उत्रिएको छ। निर्माण टिमले देशभरका शहरमा होर्डिङ बोर्ड, स्टिकर, पोस्टर र कटआउट राखेर दर्शकलाई फिल्मतर्फ आकर्षित गर्ने रणनीति अपनाएको हो।
निर्माता सरोज ओलीका अनुसार काठमाडौँ उपत्यकासहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, मकवानपुर, जनकपुर, विराटनगर र इटहरीजस्ता ठूला शहरमा प्रचार सामग्री राखिएको छ। काठमाडौँमै २७ वटा र पोखरामा मात्र ८ वटा बसपार्क तथा बिसौनीमा बोर्डहरू राखिएका छन्, जबकि करिब ३ सयभन्दा बढी स्थानमा बस तथा सार्वजनिक सवारी साधनमा स्टिकर टाँसिएको छ।
त्यसैगरी, देशभरका २७ वटा भाटभटेनी सुपरमार्केटमा फिल्मको स्ट्यान्डी राखिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, साँगा, चन्द्रागिरी, मनकामना लगायतका पर्यटकीय तथा धार्मिक स्थलमा ठूलो आकारका होर्डिङ बोर्ड स्थापना गरिएको छ।
निर्माता ओलीले भने, “हरिबहादुरलाई नेपाली दर्शकले टेलिभिजनमा रुचाएका थिए। अहिले फिल्ममा नयाँ रूपान्तरणसहित मनोरञ्जन र भावनाको गहिरो कथा लिएर आउने भएकाले दर्शकलाई सजिलै जानकारी होस् भनेर आक्रामक प्रचार गरिरहेका छौँ।”
गत सातामात्र सार्वजनिक भएको टिजरले दर्शकबीच राम्रो चर्चा पाएको छ। हास्य, आँसु र करुणाको मिश्रण प्रस्तुत गर्ने टिजरले टेलिभिजनमा चर्चित बनेको ‘हरिबहादुर’ पात्रलाई सम्झाएको छ।
सिरियलमा चोर र ठगको भूमिकामा देखिने हरिबहादुर, फिल्ममा भने आफ्नै पीडामा रोएको पात्रका रूपमा पनि प्रस्तुत हुने आभास दिएको छ। निर्देशक दीपेन्द्र के खनालले यसपटक ‘हरिबहादुर’लाई केवल हास्यमै सीमित नराखी भावनात्मक रूपमा पनि गहिरो देखाउने संकेत गरेका छन्।
फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दीनेश काफ्ले र कमलमणि नेपाललगायत कलाकारको अभिनय रहनेछ।
