रास्वपाले निर्वाचित सांसदलाई दुईदिने अभिमुखीकरण सुरु गर्दै

काठमाडौं । Rabi Lamichhane नेतृत्वको Rastriya Swatantra Party (रास्वपा) ले आफ्ना निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। कार्यक्रम ललितपुरको ग्वार्कोस्थित Royal Tulip Kathmandu मा आयोजना गरिएको हो।

Thank you for reading this post, don't forget to subscribe!

अभिमुखीकरण कार्यक्रममा पार्टी सभापति रवि लामिछानेसहित उपसभापतिद्वय Dol Prasad Aryal (डिपी) र Swarnim Wagle, महामन्त्री Kavindra Burlakoti तथा विभिन्न क्षेत्रका विज्ञहरू प्रशिक्षकका रूपमा सहभागी हुनेछन्।

कार्यक्रमको सुरुवात बिहान ९ बजे उपसभापति अर्याल र वाग्लेले गर्ने तालिका छ।

पहिलो दिनका मुख्य विषय

पहिलो दिनको सत्रमा संसदको संरचना र कार्यप्रणालीबारे पूर्वसंसद सचिव सुरेश अधिकारीले जानकारी दिनेछन्। सांसदहरूलाई समूहमा विभाजन गरी पारस्परिक चिनजान, सहकार्य क्षमता विकास तथा समूहगत अभ्यास पनि गराइनेछ।

त्यसैगरी उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षण दिने कार्यक्रम छ। उनी पार्टीको वाचापत्र लेखन समितिका संयोजक समेत रहेका थिए।

पूर्वकानून सचिव तोयानाथ अधिकारीले संसदको कानून निर्माण प्रक्रियामा खेल्ने भूमिकाबारे प्रशिक्षण दिनेछन् भने अध्येता दोभान राईले डिजिटल युगमा नागरिकसँग प्रभावकारी संवाद कसरी गर्ने भन्ने विषयमा प्रस्तुति दिनेछन्।

यसै सत्रमा सांसदहरू मनिष झा, शिशिर खनाल, गणेश पराजुली, सोविता गौतमडा. तोसिमा कार्कीलगायतले आफ्नो अनुभव समेत साझा गर्ने कार्यक्रम छ।

दोस्रो दिनको कार्यक्रम

दोस्रो दिन बिहानको सत्र योग र ध्यानबाट सुरु हुनेछ। जीवन विज्ञानका प्रशिक्षक एलपी भानु शर्माले योगाभ्यास, ध्यान तथा स्वस्थ जीवनशैलीबारे प्रशिक्षण दिनेछन्।

त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वसचिव तोयानारायण ज्ञवालीले योजना तर्जुमा र बजेट निर्माण प्रक्रियाबारे प्रशिक्षण दिने कार्यक्रम छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी र संसदबीचको सम्बन्धबारे प्रशिक्षण दिनेछन् भने अन्तिम सत्रमा संसदको कार्यसूची तथा प्राथमिकता निर्धारणमाथि सामूहिक छलफल गराइनेछ।

कार्यक्रमको समापन सभापति रवि लामिछानेको निर्देशनात्मक सम्बोधनसँगै हुने बताइएको छ।

यद्यपि अभिमुखीकरण कार्यक्रममा भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन्द्र शाहको भूमिकाबारे भने कुनै औपचारिक जानकारी दिइएको छैन।