केपी ओलीलाई हराउँदै जितेका बालेन प्रमाणपत्र लिन दमक पुग्दा समर्थकको उत्साहपूर्ण भीड
दमक, झापा | देशको स्वर
Thank you for reading this post, don't forget to subscribe!झापा क्षेत्र नम्बर–५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका बालेन्द्र शाह ‘बालेन’ शनिबार साँझ विजयी भएको प्रमाणपत्र लिन दमकस्थित निर्वाचन कार्यालय पुगेका छन्।
उनी निर्वाचन कार्यालय पुग्नुअघि नै कार्यालय बाहिर सडकमा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो। युवाहरू नाचगान गर्दै “अबकी बार, बालेन सरकार” भन्ने नारा लगाइरहेका थिए भने धेरैले रास्वपाको घण्टी चिन्ह बजाउँदै उत्सव मनाइरहेका थिए।
कडा सुरक्षा व्यवस्थाबीच बालेन मतगणना कक्षमा प्रवेश गरेका थिए। स्वदेशी तथा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूले उनलाई घेरिरहेका थिए।
प्रमाणपत्र हस्तान्तरण
करिब ३० मिनेटपछि निर्वाचन अधिकृतको कार्यालयले बालेन शाह विजयी भएको औपचारिक घोषणा गर्दै छोटो कार्यक्रममार्फत उनलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्यो।
बालेनले त्यहाँ कुनै औपचारिक सम्बोधन नगरे पनि सञ्चारकर्मीहरूको आग्रहमा केही समय तस्बिरका लागि उभिएका थिए। त्यसपछि पुनः सुरक्षा घेरामा उनी बाहिरिएका थिए।
करिब ५० हजारको मतान्तर
अन्तिम मतपरिणामअनुसार
-
बालेन्द्र शाह (रास्वपा) – ६८,३४८ मत
-
केपी शर्मा ओली (नेकपा एमाले) – १८,७३४ मत
प्राप्त गरेका छन्। दुवैबीच ४९,६१४ मतान्तर रहेको छ।
समर्थकको अपेक्षा
बालेनको जितपछि समर्थकहरूले अब देशमा नयाँ राजनीतिक शैली सुरु हुने विश्वास व्यक्त गरेका छन्।
दमकका स्थानीय सरगम पौडेलले अब बालेनले युवामात्र नभई सबै नागरिकका लागि काम गर्नुपर्ने बताए। अर्की स्थानीय सरस्वती दाहालले भने विदेश पलायन रोक्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने अपेक्षा व्यक्त गरिन्।
एमालेको बलियो गढ मानिएको झापा–५ मा यसपटक मतदाताले परिवर्तन रोज्दा बालेनको ऐतिहासिक जित भएको विश्लेषण गरिएको छ।
#BalenShah #Jhapa5 #NepalElection2082 #RSP #DeshKoSwar

