१६ भदौ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद अन्त्य गर्न सर्वपक्षीय सहमति भएको छ।

Thank you for reading this post, don't forget to subscribe!

धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार १४ र १५ भदौमा भएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने सहमति भएको छ। साथै, सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन्।

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा दुवै समुदायका अगुवाहरू सहभागी थिए। बैठकले तेलिया पोखरीसम्बन्धी विगतका विवादलाई समेत व्यवस्थापन गर्ने सहमति गरेको छ।

गत शनिबार गणेश पूजाको मूर्ति विसर्जनपछि झण्डाचोकमा टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउने विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यस क्रममा प्रहरीलाई अवस्था नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो।

आइतबार दुवै समुदायले लगाएको झण्डा हटाउने क्रममा पुनः तनाव बढ्दा प्रहरीले ३० राउन्ड फायर तथा ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो। घटनामा स्थानीय २९ वर्षीय लक्ष्मण मुखियाको दुवै खुट्टामा गोली लागेर घाइते भए भने सात जना प्रहरी ढुंगामुढामा घाइते भएका थिए।