१५ भदौ, काठमाडौं ।
Thank you for reading this post, don't forget to subscribe!राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को आगामी उपनिर्वाचनमा डा. लेखजंग थापालाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरेको छ।
पार्टी सचिवालय बैठकले सोमबार ९ जना आकांक्षीमध्येबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यसअघि रास्वपाले उम्मेदवार छनोटका लागि आन्तरिक प्राइमेरी इलेक्सन गरेको थियो, जसमा १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन मतदान भएको थियो।
नौ आकांक्षीमध्येबाट उदाए थापा
उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी बनेका थिए।
भोटिङ परिणामअनुसार सबैभन्दा बढी समर्थन पाएका डा. थापालाई उम्मेदवार घोषणा गरिएको रास्वपाको दाबी छ।
व्यावसायिक पृष्ठभूमि
डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन्। हाल उनी महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरको न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत छन्। साथै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन्।
उनको उम्मेदवारीलाई रास्वपाले “व्यावसायिक पृष्ठभूमि, सामाजिक सेवामा योगदान र नयाँ पुस्ताको प्रतिनिधित्व” को आधारमा महत्वपूर्ण ठानेको छ।
रुपन्देही–३ को उपनिर्वाचन
रुपन्देही–३ मा उपनिर्वाचन केही समयमै हुने तय भएको छ। यस क्षेत्रमा अन्य ठूला दलहरूले अझै उम्मेदवार टुंग्याएका छैनन्। रास्वपाको उम्मेदवार चयन प्रक्रियाले अन्य दललाई पनि दबाब सिर्जना गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
