१२ भदौ, विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भिजिट भिसा प्रकरणसँग जोडिएको दुई बुँदे सहमति ‘गल्ती’ भएको स्वीकार गरेका छन्।
Thank you for reading this post, don't forget to subscribe!माओवादी केन्द्र प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सहमति गर्दा ‘टेक्निकल त्रुटी’ भएको बताए। उनका अनुसार, सहमतिबाट दुईटा अपेक्षा गरिएको थियो— कांग्रेस–एमाले गठबन्धन ढाल्ने र संवैधानिक निकायमा भागबन्डा गर्ने अवसर पाउने। तर दुवै अनुमान विपरीत परिणाम आएको उनले स्वीकारे।
पार्टीभित्र आलोचना
बैठकमा नेताहरूले सरकारको १८ महिनाको कार्यकाल, मधेश केन्द्रित अभियानमार्फत बढेको पार्टीको साख दुई बुँदे सहमतिले खस्किएको भन्दै असन्तोष प्रकट गरे।
प्रचण्डले भने, “तपाईंहरूलाई टेन्सन भएको कुरा यहाँ पनि प्रष्ट भयो। कमी कतै हाम्रोतर्फबाट भएको हो, तर भित्र बाध्यता पनि थिए।”
सहमतिको कारण
उनका अनुसार, संघीय निजामती विधेयक, विद्यालय शिक्षा विधेयक, नागरिकता विधेयकजस्ता महत्त्वपूर्ण कानुन पारित गर्नुपर्ने बाध्यताले सहमति गर्नुपर्यो। तर भित्री रूपमा भने, गठबन्धन टुट्ने र सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति बदर गर्ने आशा गरेका थिए। त्यसपछि नयाँ नियुक्तिमा भागबन्डा हुने अपेक्षा प्रचण्डको थियो।
विपक्षीसँगको सल्लाह
प्रचण्डले यो कदम प्रतिपक्षी दलहरूसँग सल्लाह गरेर अघि बढाइएको बताए।
“सबै नेताहरूसँग छलफल भएको थियो। तर पछि कांग्रेसले पनि गठबन्धन जान दिन सकिँदैन भनेपछि हाम्रो अनुमान उल्टो भयो,” उनले स्पष्ट पारे।
अप्रत्याशित निर्णय
सर्वोच्च अदालतले संवैधानिक परिषदद्वारा गरिएका नियुक्ति सदर गरेपछि प्रचण्डको अपेक्षा विपरीत परिस्थिति बन्यो।
“बदर हुन्छ भन्ने विश्वास कांग्रेसलाई पनि थियो, हामीलाई पनि थियो। तर सदर भयो,” उनले बैठकमा भने।
भिजिट भिसा प्रकरण
प्रचण्डले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने सहमति कायम रहेको जनाए। उनका अनुसार, निरङ्कुश नेतृत्वविरुद्ध नयाँ परिस्थिति सिर्जना गर्ने र छानबिनलाई आधारभूत नीति बनाएर अघि बढाउने उद्देश्य थियो।
साथै, उनले महत्त्वपूर्ण विधेयकहरू अघि बढाउन लचिलो बाटो अपनाउनुपरेको बताए।
