साउदी अरब, यूएई, कतारसहित ७ देशमा पुनः श्रम स्वीकृति खुला

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौं। सरकारले मध्यपूर्वका केही देशमा नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्की मा पुनः श्रम स्वीकृति खुला गरिएको जानकारी दिएको हो।

यसअघि पश्चिम एसियामा विकसित भएको असामान्य परिस्थितिका कारण नेपाली श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै ती देशहरूमा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरिएको थियो।

मन्त्रालयका अनुसार गैरआवासीय नेपाली संघ, सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा श्रमिकहरूबाट पुनः श्रम स्वीकृति खुला गर्न माग आएपछि परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको सुझावका आधारमा उक्त निर्णय गरिएको हो।

सरकारले स्थगन गरिएका मुलुकहरूमध्ये इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेकका देशहरूमा पुनः श्रम स्वीकृति दिने निर्णय गरेको जनाएको छ। यस निर्णयसँगै ती देशहरूमा कार्यरत नेपाली श्रमिकहरू तथा विदामा नेपाल आएर पुनः काममा फर्किन चाहने श्रमिकहरूले श्रम स्वीकृति नवीकरण गर्न पाउनेछन्।

श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा निर्णयको जानकारी दिँदै सम्बन्धित सबैलाई यसबारे अवगत हुन अनुरोध गरिएको छ।

सरकारको यो निर्णयसँगै मध्यपूर्वका विभिन्न देशमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।