देशभर भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी – सतर्क रहन सरकारको आग्रह
Thank you for reading this post, don't forget to subscribe!काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको छ।
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनामा विशेष गरी पहाडी तथा हिमाली क्षेत्रसहित केही तराई क्षेत्रमा समेत प्रतिकूल मौसमको असर पर्ने उल्लेख गरिएको छ। केही स्थानमा १११ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
प्राधिकरणका अनुसार यस्तो मौसमका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ। पछिल्ला दिनहरूमा हावाहुरीका कारण जनधनको क्षति समेत भएको सन्दर्भमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ।
⚠️ नागरिकलाई गरिएको मुख्य अनुरोध:
- अत्यावश्यक काम बाहेक यात्रा नगर्नुहोस्
- हावाहुरी चलेको बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नुहोस्
- आगोका स्रोतहरू बन्द राख्नुहोस्
- सवारी साधन चलाइरहेको भए सुरक्षित स्थानमा रोकेर बस्नुहोस्
- भिडभाडमा नआत्तिनुहोस्, सुरक्षित स्थानतर्फ शान्त रूपमा जानुहोस्
त्यस्तै, हावाहुरीको समयमा अग्ला रुख, कमजोर संरचना, बिजुली र टेलिफोनका खम्बा तथा तारमुनि नबस्न, लत्रिएका बिजुलीका तार नछुन, विद्युत उपकरण प्रयोग नगर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन समेत आग्रह गरिएको छ।
प्राधिकरणले मौसम सम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन र आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
#WeatherAlert #NepalStorm #SafetyFirst #DisasterAlert #DeshKoSwar
