भ्रष्टाचार विरुद्ध र सुशासनको माग गर्दै उठेको जेन–जी आन्दोलनपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङले मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।

Thank you for reading this post, don't forget to subscribe!

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले उज्यालो नेपाल पार्टीलाई माया, विश्वास र आशा राख्दै देशभरि आफ्ना उम्मेदवारहरूलाई मतदान गर्ने सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

घिसिङले चुनावी अभियानमा अहोरात्र खटिएका पार्टीका नेता, कार्यकर्ता तथा सहयोगीहरूलाई पनि विशेष धन्यवाद दिएका छन्। साथै उनले विषम परिस्थितिका बीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनका अनुसार यो निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसर थियो।

घिसिङले देशलाई नाराले मात्र होइन, स्पष्ट दृष्टिकोण, ठोस योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। उनका अनुसार नेपालमा विकासको गति सुस्त हुनुको प्रमुख कारण निर्णय गर्न नसक्ने प्रणाली र कार्यान्वयनको कमजोरी हो।

उनले विगतमा नेपालले १८ घण्टासम्मको लोडसेडिङ झेल्नुपरेको स्मरण गर्दै दृढ नेतृत्व र साहसी निर्णयले त्यो अँध्यारोलाई हटाउन सम्भव भएको बताए। घिसिङले विद्युत पहुँच ५८ प्रतिशत घरधुरीबाट बढाएर करिब ९९ प्रतिशतसम्म पुर्‍याउने कार्य महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।

यसका साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, मेलम्ची खानेपानी पुनः सञ्चालन, तातोपानी नाका खुलाउने, बाढीले क्षतिग्रस्त सडक पुनः सञ्चालन गर्ने तथा वर्षौँदेखि अलपत्र रहेका विकास आयोजनाहरूको ठेक्का तोड्ने जस्ता काम अघि बढाइएको उनले बताएका छन्।

त्यस्तै बुढीगण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठूला जलविद्युत आयोजनाहरू स्वदेशी लगानीमै निर्माण गर्न सकिने मोडालिटी तय गर्नु पनि महत्वपूर्ण उपलब्धि भएको घिसिङको भनाइ छ।

घिसिङले आफूहरू काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा सहभागी भए पनि यसपटक मतमा जित हासिल गर्न नसकेको उल्लेख गरेका छन्। तर चुनावी हारलाई उनले प्राविधिक विषय मात्र भएको बताएका छन्।

उनले छोटो समयमै मतदाताबाट प्राप्त माया, विश्वास र सद्भावलाई ठूलो ऊर्जा र मार्गदर्शनका रूपमा लिएको बताए।

साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भारी जनमत दिएकोमा बधाई दिँदै देशमा सुशासन कायम गर्न र आर्थिक समृद्धि हासिल गर्न सफल होऊन् भन्ने शुभकामना व्यक्त गरेका छन्।

उनले सरकारका राम्रा कामको समर्थन गर्ने र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने बताएका छन्।

अन्त्यमा घिसिङले चुनाव परिणामबाट निराश नहुने र उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।