Screenshot

गगन थापाको राजीनामा समाधान होइन, अब शून्यबाटै उठ्नुपर्छ : डा. सुनिल कुमार शर्मा

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौं | देशको स्वर

नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग्नु अहिलेको संकटको समाधान नभएको बताएका छन्।

उनले अहिले देखिएको चुनावी पराजयको सम्पूर्ण जिम्मेवारी एउटै व्यक्तिमाथि थोपर्नु राजनीतिक रूपमा न्यायोचित नहुने उल्लेख गरेका छन्।

डा. शर्माका अनुसार नेपाली कांग्रेसले सामना गरिरहेको संकट दशकौँदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीतिक अभ्यासको परिणाम हो। यस्तो अवस्थामा सभापतिको राजीनामा माग्नु वा दिनु केवल क्षणिक भावनात्मक प्रतिक्रिया मात्र हुने उनको भनाइ छ।

उनले पार्टीभित्र सबैले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। विशेष महाधिवेशनपछि पनि यदि पुरानै नेतृत्व शैली र संरचनामा चुनाव लडिएको भए पार्टीको अवस्था झन् कमजोर हुन सक्ने उनको टिप्पणी छ।

‘पराजयको जिम्मेवारी साझा हो’

डा. शर्माले अहिले देखिएको पराजय कुनै एक व्यक्तिको कारण मात्र नभई विगतमा भएका गलत निर्णय, जनभावनाविपरीतका गतिविधि र कमजोर नेतृत्व शैलीको दीर्घकालीन परिणाम भएको बताएका छन्।

उनका अनुसार जनताको मन दुखाउने र विश्वास कमजोर बनाउने निर्णयहरूमा संलग्न पुरानो नेतृत्वले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ।

कोइराला परिवारलाई एकताको आह्वान

नेपाली कांग्रेसको इतिहासमा कोइराला परिवारको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले अहिलेको संक्रमणकालीन अवस्थामा पार्टीभित्र एकता र सहकार्यको वातावरण बनाउन अग्रसर हुनुपर्ने बताएका छन्।

उनले लोकतन्त्र, त्याग र संघर्षको परम्परालाई पुनः जागृत गर्दै सम्पूर्ण शक्ति एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।

‘अब नयाँ संघर्ष सुरु गर्ने समय’

डा. शर्माले विगतका कमजोरीबाट पाठ सिक्दै अब शून्यबाटै नयाँ संघर्ष सुरु गर्नुपर्ने बताएका छन्।

उनका अनुसार पार्टीले जनताको गुमेको भरोसा पुनः जित्दै आफूलाई फेरि विश्वासिलो र शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्छ।