चावहिल–साँखु सडकमा शंकास्पद वस्तु, सेनाको टोली घटनास्थलमा
Thank you for reading this post, don't forget to subscribe!काठमाडौं, २१ फागुन – काठमाडौंको शंखरापुर नगरपालिका–९ इन्द्रेणीस्थित चावहिल–साँखु सडक खण्डमा शंकास्पद वस्तु फेला परेको छ।
निर्वाचन सुरक्षा बेस थलीबाट खटिएको प्रहरीको मोबाइल टोलीले सडकको बीचभागमा उक्त वस्तु देखेपछि सुरक्षा सतर्कता बढाइएको हो। प्रहरीका अनुसार सडकमा राखिएको बोरामाथि बट्टा जस्तो देखिने र तारले बेरिएको वस्तु भेटिएको छ, जसले शंका उत्पन्न गरेको जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै नेपाली सेनालाई खबर गरिएको थियो। हाल नेपाली सेना अन्तर्गत सुन्दरीजलस्थित रणचण्डी गणबाट निर्वाचन सुरक्षाका लागि खटिएको टोली घटनास्थलमा पुगेको छ। मेजर धनबहादुर तामाङको कमाण्डमा १० जनाको टोलीले शंकास्पद वस्तुको जाँच तथा आवश्यक सुरक्षा व्यवस्थापन गरिरहेको जनाइएको छ।
सुरक्षाका कारण उक्त सडक क्षेत्रमा आवतजावतमा सावधानी अपनाइएको छ। प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ।
