जेन–जी विद्रोहपछि आज प्रतिनिधिसभा निर्वाचन, देशभर एकै चरणमा मतदान
Thank you for reading this post, don't forget to subscribe!काठमाडौँ, २१ फाल्गुन २०८२ (बिहीबार) – जेन–जी विद्रोहपछिको विशेष राजनीतिक परिवेशमा आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान हुँदैछ। ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान सञ्चालन हुने निर्वाचन आयोग ले जनाएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा आमनिर्वाचन सम्पन्न भएको थियो।
कति पदमा प्रतिस्पर्धा?
यसपटक ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ।
प्रत्यक्षतर्फ ६५ राजनीतिक दल ६१ वटा निर्वाचन चिह्नमार्फत चुनावी मैदानमा छन्। यस प्रणालीमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य लिङ्गका उम्मेदवार छन्।
समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार चुनावी दौडमा छन्। तीमध्ये एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला छन्।
कति मतदाता?
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुँदैछन्। जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य लिङ्गका मतदाता रहेका छन्। साथै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। थप १४३ अस्थायी मतदानस्थलको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अशक्त मतदातालाई प्राथमिकताका साथ मतदानको सुविधा मिलाइएको आयोगले जनाएको छ।
सुरक्षा र व्यवस्थापन
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ।
प्रत्यक्ष र समानुपातिकतर्फ गरी चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित केन्द्रमा पु¥याइएको छ।
पर्यवेक्षण र आह्वान
निर्वाचनको अनुगमनका लागि चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था परिचालित छन्।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतले सबै मतदातालाई उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
विशेष राजनीतिक पृष्ठभूमिमा हुन लागेको यो निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।
