ब्रेकिङ : अमेरिकामा नेपाली परिवारमा भएको हत्याकाण्डबारे प्रहरीको आधिकारिक विवरण सार्वजनिक
Thank you for reading this post, don't forget to subscribe!देशकोस्वर डेस्क
फागुन १३, २०८२ | फेयरफ्याक्स, भर्जिनिया
अमेरिकाको भर्जिनिया राज्यस्थित म्यान्टुवा क्षेत्रमा नेपाली परिवारमा भएको दोहोरो हत्याकाण्डबारे प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरेको छ। Fairfax County Police Departmentले जारी गरेको विज्ञप्तिअनुसार घटनामा दुई महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्। आक्रमणका आरोपित ५४ वर्षीय छत्र थापा प्रहरीको गोली लागेर मारिएका छन्।
बिहानै आपतकालीन सूचना
प्रहरीका अनुसार फेब्रुअरी २३ सोमबार बिहान करिब ५:०६ बजे Mantua क्षेत्रको पर्सिमन ड्राइभस्थित अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको सूचना प्राप्त भएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्दा बाहिर एक महिला गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।
घरभित्रको अवस्था
अपार्टमेन्टभित्र प्रवेश गर्दा प्रहरीले छत्र थापालाई चक्कु हातमा लिएर एक पुरुषमाथि आक्रमण गरिरहेको अवस्थामा भेटेको जनाएको छ। प्रहरीको मौखिक निर्देशन अटेर गरेपछि एक अधिकृतले गोली चलाएका थिए। गोली लागेपछि थापा ढलेका थिए र घटनास्थलमै मृत घोषणा गरिएको थियो।
आक्रमणमा परेकी ३३ वर्षीया ममता थापा र ५२ वर्षीया बिन्दा थापालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। गम्भीर घाइते सन्तोष बस्नेतको अस्पतालमा उपचार भइरहेको छ र अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ।
एक वर्षे बालक सुरक्षित
घटनास्थलमा एक वर्षको बालक सकुशल फेला परेको प्रहरीले जनाएको छ। बालकलाई सुरक्षात्मक निगरानीमा राखिएको छ र आवश्यक संरक्षणको व्यवस्था मिलाइएको छ।
दोहोरो अनुसन्धान सुरु
घटनापछि प्रहरी अधिकृतद्वारा गरिएको गोली प्रहारबारे विभागीय नीतिअनुसार दुई तहमा अनुसन्धान सुरु गरिएको छ।
- मेजर क्राइम्स ब्यूरोद्वारा आपराधिक अनुसन्धान
- इन्टर्नल अफेयर्स ब्यूरोद्वारा प्रशासनिक छानबिन
प्रहरीले शरीरमा जडान गरिएको क्यामेराको भिडियो ३० दिनभित्र सार्वजनिक गरिने तथा संलग्न अधिकृतको नाम १० दिनभित्र सार्वजनिक गरिने जनाएको छ।
प्रारम्भिक विवरणअनुसार आरोपित छत्र थापा लामो समयदेखि मानसिक समस्यामा रहेको पारिवारिक स्रोतले उल्लेख गरेको छ। यद्यपि घटनाको सम्पूर्ण सत्यतथ्य अनुसन्धानबाटै स्पष्ट हुने प्रहरीले जनाएको छ।
घटनाले स्थानीय नेपाली समुदायमा गहिरो शोक र चिन्ता पैदा गरेको छ। थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।
