वीरगञ्ज
मा ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ
देशकोस्वर डेस्क
२० फागुन २०८२
पर्सा जिल्लामा प्रहरीले ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जनालाई पक्राउ गरेको छ। निर्वाचनको संवेदनशील समयमा धार्मिक सद्भाव खलबल्याउने आशंकामा उनीहरूलाई गएराति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरू सुँगुरको टाउको मस्जिद परिसरमा फ्याँक्ने तयारीमा थिए। पसलबाट खरिद गरी टाउको दुई टुक्रा पारी धार्मिक स्थलमा फ्याँक्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।
प्रहरीले उनीहरूको साथबाट ९ थान सुतली बम, केही तार तथा अन्य शंकास्पद सामग्री बरामद गरेको जनाएको छ। बरामद सामग्रीको प्रकृति र उद्देश्यबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २का उम्मेदवार मनोज चौधरीलाई पनि शंकास्पद वस्तुसहित पक्राउ गरिएको जानकारी दिएको छ।
घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले धार्मिक सद्भाव र शान्ति सुरक्षामा खलल पुग्न नदिन सतर्कता अपनाइएको जनाएको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
