मौन अवधिको राति राजधानीमा आगजनी, सवारीभित्र दुर्गा प्रसाईँसम्बन्धी पर्चा फेला
Thank you for reading this post, don't forget to subscribe!

काठमाडौं, फागुन १९ — प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएकै राति राजधानीका दुई स्थानमा सवारीसाधनमा आगजनी भएको छ। प्रहरीका अनुसार सुकेधारा र नैकाप क्षेत्रमा मंगलबार बिहान करिब ३ बजेतिर घटना भएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले आगजनीको पुष्टि गर्दै सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा क्षति पुगेको जानकारी दिए।
प्रहरीका अनुसार आगलागी गरिएका सवारीमध्ये एकभित्र दुर्गा प्रसाईँसम्बन्धी पर्चा फेला परेको छ।
“बिहान ३ बजे आसपास आगजनी भएको देखिन्छ। सवारीभित्र पर्चा भेटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” एसपी भट्टराईले बताए।
हालसम्म सवारीधनीबाट औपचारिक उजुरी नआएको जनाउँदै प्रहरीले सीसीटीभी फुटेज संकलन र अन्य प्राविधिक अनुसन्धान अघि बढाएको जनाएको छ।
उता, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक Durga Prasaiलाई यसअघि भक्तपुरस्थित निवासबाट पक्राउ गरी अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
मौन अवधिमा राजधानीमै भएको आगजनी घटनाले सुरक्षा संयन्त्रलाई थप सतर्क बनाएको छ। प्रहरी स्रोतका अनुसार निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्न विशेष निगरानी बढाइएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
