निर्वाचनअघि सुरक्षा निगरानी कडा, १३३ पक्राउ परेकामध्ये ७० अझै हिरासतमा
Thank you for reading this post, don't forget to subscribe!काठमाडौँ, २ मार्च २०२६ — फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा निकायहरूले सम्भावित अवरोध रोक्न देशभर ‘सूक्ष्म निगरानी’ तीव्र पारेका छन्। नेपाल प्रहरीका अनुसार चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा आइतबार साँझसम्म १३३ जनालाई नियन्त्रणमा लिइएको छ, जसमा ६३ जना रिहा भइसकेका छन् भने ७० जना अझै हिरासतमा छन्।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार आइतबार मात्रै सुनसरी, मोरङ, कास्की, भक्तपुर र काठमाडौँबाट ९ जना पक्राउ परेका हुन्। भक्तपुरबाट राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई पनि पक्राउ गरी अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ। प्रहरीका अनुसार उनीमाथि सार्वजनिक शान्तिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ।
यसअघि पनि निर्वाचन आचारसंहिता र विद्युतीय कारोबारसम्बन्धी कसुरमा प्रसाईँ पटक–पटक पक्राउ परेर अदालतबाट रिहा हुँदै आएका थिए। तर यसपटक मतदानको दिन लक्षित विरोध कार्यक्रम घोषणा गरेपछि नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूको भनाइ छ। प्रसाईँको सचिवालयले भने सरकारी कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको दाबी गरेको छ।
सुरक्षा रणनीति कडा
गृह मन्त्रालयले एकीकृत सुरक्षा रणनीतिअनुसार देशभर शान्ति–सुरक्षाको अवस्था ‘सन्तोषजनक’ रहेको जनाएको छ। प्रचार प्रसार निषेध अवधि सुरु भएसँगै चेकपोस्ट, गस्ती र सामाजिक सञ्जाल निगरानी बढाइएको छ। सीमाक्षेत्र र मुख्य राजमार्गहरूमा विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले झण्डै ७७ हजार नियमित प्रहरी र १ लाख ३४ हजार म्यादी प्रहरी परिचालन गरेको छ। सशस्त्र प्रहरीले ३५ हजार आफ्ना जनशक्ति र १५ हजार म्यादी प्रहरी खटाएको जनाएको छ। त्यस्तै, नेपाली सेनाले ७९ हजार ७०० सुरक्षाकर्मी निर्वाचन सुरक्षामा तैनाथ गरेको छ।
नेपाली सेनाको भूमिका
नेपाली सेनाले निर्वाचन प्रोटोकलअनुसार मतदान केन्द्रमा ‘तेस्रो घेरा’ मा बसेर सुरक्षा दिनेछ। मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रसम्म पुर्याउने र मतगणनास्थलको बाहिरी घेरामा सुरक्षा दिने जिम्मेवारी सेनाको हुनेछ।
प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न पृतना र ब्यारेक निरीक्षण गर्दै आवश्यक निर्देशन दिइसकेको सेनाले जनाएको छ। यसपटक सेनाले ११५ स्थानको सुरक्षा जिम्मा लिएर सशस्त्र प्रहरीलाई निर्वाचनमा थप केन्द्रित हुन सहजीकरण गरेको बताइएको छ।
सार्वजनिक बिदा र यातायात व्यवस्थापन
निर्वाचनलाई लक्षित गर्दै फागुन २० गतेदेखि तीन दिन सार्वजनिक बिदा दिइएको छ। फागु पर्वको बिदासँगै यात्रु चाप बढ्ने भएकाले मुख्य राजमार्गहरूमा सुरक्षा जाँच कडा पारिएको छ।
अधिकारीहरूका अनुसार हालसम्म निर्वाचनको वातावरण शान्तिपूर्ण देखिए पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ।
