मतदानको दिन पास नचाहिने सवारीसाधनको सूची सार्वजनिक
काठमाडौं, फागुन १६ – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदानको दिन (फागुन २१ गते) सञ्चालन हुने सवारीसाधन सम्बन्धी व्यवस्थाबारे निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गरेको छ।
Thank you for reading this post, don't forget to subscribe!आयोगले अत्यावश्यक सेवा सुचारु राख्ने उद्देश्यले केही सवारीसाधनलाई प्रवेश पास आवश्यक नपर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ। सवारीसाधन सञ्चालन सम्बन्धी कार्यविधि, २०८२ अनुसार तोकिएका सवारीसाधनहरूलाई मात्रै पासबिनै सञ्चालन गर्न पाइनेछ।

यी सवारीसाधनलाई पास आवश्यक नपर्ने:
-
दमकल, एम्बुलेन्स र शववाहन
-
खानेपानी ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधन
-
दूरसञ्चार, खानेपानी, विद्युत तथा ढल मर्मतसम्बन्धी सेवा सवारीसाधन
-
अस्पताल सेवा सवारी (चिकित्सक र स्वास्थ्यकर्मी आवतजावत)
-
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रु ओसारपसारका सवारी (विमानस्थल–घर/होटल)
-
हिँड्न नसक्ने गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता तथा एक सहयोगी सहितका सवारीसाधन
-
‘CD’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधन
-
आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षक, राष्ट्रिय मानव अधिकार आयोगका अनुगमन टोली तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन
आयोगले निर्वाचन अवधिभर सवारी व्यवस्थापन सहज बनाउन आयोग परिसरमा एकीकृत सवारी व्यवस्थापन डेस्क स्थापना गरिएको जानकारी पनि दिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरबाट जारी हुने सवारी पास सोही डेस्कबाट उपलब्ध गराइनेछ।
आयोगले मतदानको दिन अनावश्यक सवारी सञ्चालन नगर्न र सुरक्षात्मक व्यवस्थामा सहयोग गर्न सबैमा आग्रह गरेको छ।
