वीरगञ्ज – दुई महिनाअघि मात्र वैवाहिक जीवनको नयाँ अध्याय सुरु गरेका वीरगञ्जका असहाव आलम ठकुराईलाई काठमाडौंमा जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाउनु परेको छ। उनको असामयिक मृत्युले परिवार र छिमेकीहरूलाई गहिरो शोकमा डुबाएको छ।
Thank you for reading this post, don't forget to subscribe!२२ वर्षे असहाव, जो भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा जन्मिएका थिए, हाल तीन वर्षदेखि काठमाडौँमा अध्ययन र रोजगारीका लागि बस्दै आएका थिए। मङ्गलबार उनी पठाओबाट गोङ्गबु लैजाँदै गर्दा प्रहरीको गोली लागेर मृत्युवरण गरेका हुन्।
उनको आमा नजला खातुन र नयाँ बिहे गरेका श्रीमती रोक्सिता खातुन शोकमा बेसुध भई बसेको परिवारले जानकारी दिएको छ। आमा नजलाले रुँदै भनेकी छन्, “मेरो छोरा भर्खरै बिहे गरेर आएका थिए। अब मेरी बुहारी कसको साथमा बाँच्ने ? उनका छाती र पेटमा गोली लागेको देखियो, तर किन यस्तो भयो हामी बुझ्न सकेनौँ।”
असहाव पाँच सन्तानमध्ये तेस्रो थिए र वीरगञ्जको ग्लोबल बिजनेस कलेजबाट कक्षा १२ व्यवस्थापनमा उत्तीर्ण भएका थिए। छिमेकी मनोज गुप्ताका अनुसार असहाव निकै मृदुभाषी र सबैसँग मिलनसार स्वभावका थिए।
उनको काका असराल आलम ठकुराईले भने, “असहावको मृत्युले हामीलाई निकै मर्माहत पारेको छ। तर जेनजी आन्दोलनमा असहाव जस्ता साहसीहरूले दिएको बलिदानले मुलुकमा नयाँ क्रान्तिको शुरुवात होस्।”
वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले पनि भने, “असहाव भाइ अत्यन्तै असल व्यक्ति हुनुहुन्थ्यो। उनको निधनले अपूरणीय क्षति पुगेको छ। मुर्लीवासीहरूले शुक्रबार साँझ प्रतिमाचोकमा मैनबत्ती बालेर उनको सम्झना गरेका छन्।”
असहावको असामयिक मृत्युले केवल परिवार मात्र होइन, सम्पूर्ण वीरगञ्ज बस्तीलाई स्तब्ध र शोकग्रस्त बनाएको छ।
