ललितपुर, भदौ २१ – ललितपुरको हरिसिद्धीमा शनिबार बिहान एक दुःखद घटना भएको छ। कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगर चढेको सरकारी गाडीले ११ वर्षीया उषा सुनुवार मगरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन्।
Thank you for reading this post, don't forget to subscribe!घटनास्थल ललितपुर महानगरपालिका–२८, कटिखेल नजिकैको सडकमा भएको थियो। ठक्कर लगाउने गाडीको नम्बर को १ झ ६९९ हो। बालिकालाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा लगिएको छ। उनको अनुहारमा चोट लागेको छ तर बोल्न सक्ने अवस्थामा छिन्।
घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् र सडक अवरुद्ध गरेका छन्। उनीहरूले सडकमा गाडी तेर्स्याएर बेन्च राखेका कारण यातायात ठप्प भएको छ।
मन्त्री मगर गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा सहभागी हुन जाने क्रममा दुर्घटना भएको बताइएको छ। मन्त्री आफैंले दुर्घटना पछि अस्पताल पुगेर बालिकाको स्वास्थ्य अवस्था बुझ्न खोजेको जानकारी सेतोपाटीसँग दिएका छन्।
स्थानीय सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान गर्दैछ।
