काठमाडौं, भदौ १७ – वैदेशिक रोजगारीले देशमा रेमिट्यान्सको रेकर्ड तोड्दै अर्थतन्त्रलाई सहारा दिइरहेको छ । तर यसको भयावह पाटो हरेक वर्ष हजारौँ नेपालीको मृत्यु र अंगभंगको रूपमा देखिँदै आएको छ ।
Thank you for reading this post, don't forget to subscribe!गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार २ सय ५५ नेपालीले विदेशमा काम गर्ने क्रममा ज्यान गुमाए। नेपाल प्रहरीको तथ्यांकअनुसार भने सो अवधिमा १ हजार ४ सय १ शव नेपाल ल्याइएको थियो।
सबैभन्दा धेरै मृत्यु मलेसिया (३२७) मा भएको छ। त्यसपछि साउदी अरब (२६४), यूएई (२६४), कतार (१९२) र कुवेत (७५) रहेका छन्।
१७ खर्ब रेमिट्यान्स, बढ्दो मृत्यु
गत आवमा नेपालले वैदेशिक रोजगारीबाट १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्राएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशत बढी हो। तर सोही अवधिमा प्रत्येक दिन औसत साढे तीन नेपाली वैदेशिक रोजगारीमा ज्यान गुमाइरहेका छन्।
२०६५ देखि अहिलेसम्म १४ हजार ५ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीमै ज्यान गुमाइसकेका छन्।
मृत्युका कारण
सरकारको अध्ययनअनुसार विदेशमा नेपालीको मृत्युका प्रमुख कारणमा :
-
प्राकृतिक मृत्यु
-
हृदयाघात
-
सडक दुर्घटना
-
आत्महत्या
-
कार्यस्थल दुर्घटना
समेत रहेका छन्।
चिन्ताजनक तथ्याङ्क
-
पछिल्ला ३ वर्षमा मात्र ३ हजार ८ सय ५२ नेपाली विदेशमै मृत्यु
-
२०६५/६६ देखि हालसम्म ३ हजार ९ सय २४ जना अंगभंग वा गम्भीर घाइते
-
मलेसियामा सुरक्षा गार्डका रूपमा काम गर्ने नेपालीमा हृदयाघात र आत्महत्याको दर उच्च
समस्या र समाधान
विशेषज्ञहरूका अनुसार लामो कार्यघण्टा, अस्वस्थ जीवनशैली, तालिमको अभाव, नक्कली रक्सी सेवन, कार्यस्थलमा सुरक्षाको कमी, मानसिक तनाव लगायत कारणले मृत्यु र स्वास्थ्य समस्या बढेका छन्।
डा. प्रमोद रेग्मी र डा. श्वेता कोइरालाले पूर्वस्वास्थ्य परीक्षण कडाइका साथ गर्ने, प्रस्थान–पूर्व तालिमलाई प्रभावकारी बनाउने, जोखिमपूर्ण क्षेत्रमा सुरक्षा अभ्यास कडाइका साथ लागू गर्ने, तथा घरपरिवारले ऋणको दबाब दिएर असुरक्षित काममा पठाउन रोक्नुपर्ने सुझाव दिएका छन्।
सरकारले स्वास्थ्य परीक्षण प्रणालीलाई डिजिटलाइजेसन गर्ने, सीपमूलक तालिम र अभिमुखीकरणलाई मजबुत बनाउने प्रयास थालेको छ। तर विशेषज्ञहरूको भनाइमा सरकार, म्यानपावर, रोजगारदाता, परिवार र श्रमिक आफैं सबै जिम्मेवार बन्नुपर्ने देखिन्छ।
