काठमाडौं, १५ भदौ — उखु किसान आन्दोलनमा रहेकै बेला दूध उत्पादक किसानहरूले पनि आफ्नो भुक्तानी नपाएको विरोधमा सडकमा प्रदर्शन गर्ने निर्णय गरेका छन्। आज दिउँसो १२ बजे काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालयमा धर्ना कार्यक्रम आयोजना हुने भएको छ।

Thank you for reading this post, don't forget to subscribe!

अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीले बताए अनुसार, किसानहरूले पटक–पटक दूधको मूल्य भुक्तानीका लागि सम्बन्धित निकायलाई अनुरोध गरे पनि त्यसको सम्बोधन नभएपछि धर्ना दिन बाध्य भएको हो। “गत वर्षदेखि दूधको बक्यौता भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा छन्। परिवार पालनपोषण, छोराछोरीको शिक्षा र पशुपालनमा समेत कठिनाइ आएको छ,” डा. अधिकारीले बताए।

धर्ना कार्यक्रममा काठमाडौं उपत्यका र आसपासका जिल्लाका किसानहरूले सहभागिता जनाउने भएका छन्। कार्यक्रम करिब एक घण्टा चल्ने अनुमान गरिएको छ।

त्यसैबीच, उखु किसानहरूले पनि सरकारले भत्ता रकम घटाउने निर्णयको विरोध गर्दै आगामी भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने तयारी थालेका छन्। उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरूको संयुक्त बैठकले यो आन्दोलन कार्यक्रम तय गरेको हो।

किसानहरूको आक्रोश र माग दुवै देखिएका यस समयमा, दूध र उखु किसानहरूको समस्याले सरकारको ध्यान आकृष्ट हुने अपेक्षा गरिएको छ।